राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकका निर्णय, कात्तिक १५ भित्र उम्मेदवारी आव्हान
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी, राजनीतिक संवाद विस्तार र केन्द्रीय सल्लाहकार परिषद् गठन लगायतका पाँच महत्वपूर्ण निर्णयहरू गरेको छ।
पार्टीका प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्ति अनुसार, बैठकका मुख्य निर्णयहरू यस प्रकार छन्:
- उम्मेदवार छनोट कार्यदल गठन: २०८२ फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एकीकृत निर्वाचन खाका अन्तर्गत उम्मेदवार छनोट विधिमा सुझाव संकलन गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति र केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित ‘सुझाव संकलन कार्यदल’ गठन गरिएको छ। यस कार्यदललाई सात दिनभित्र सुझाव संकलन गरी कात्तिक १५ भित्र उम्मेदवारी आव्हानको तयारी गर्ने जिम्मा दिइएको छ।
- उच्च संवाद समितिको संयोजन डा. स्वर्णिम वाग्लेलाई: वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि विभिन्न सामाजिक-राजनीतिक शक्ति र समूहसँग वार्ता गर्न गठित समितिहरूको कार्यक्षेत्रलाई एकरूपता दिँदै वृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन उच्च संवाद समितिको संयोजन पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले गर्ने भएका छन्।
- केन्द्रीय सल्लाहकार परिषद्मा पाँच जना मनोनयन: पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को गठन प्रक्रिया प्रारम्भ गर्दै वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेल, सर्वाङ्गीण विकास एवं सरसफाई विज्ञ नमस्तेलाल भूमि, समाजसेवी शोभा जोशी बिजुक्छे, जलस्रोत एवं सिंचाइ विज्ञ इन्जिनियर बुद्धिलाल विश्वकर्मा र पूर्व क्याम्पस प्रमुख जय किशोर लाललाई सो परिषद्मा मनोनयन गरिएको छ।
- केन्द्रीय समितिको विस्तारित बैठक चितवनमा: पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आगामी कार्तिक १४ र १५ गते चितवनमा गर्ने निर्णय भएको छ। यस बैठकको व्यवस्थापनका लागि केन्द्रीय सदस्य एवं पूर्व सांसद हरि ढकालको संयोजकत्वमा समिति गठन गरिएको छ।
- जल उत्पन्न विपद प्रभावित क्षेत्रमा राहतकार्य: असोज तेस्रो साता भएको जल उत्पन्न विपद प्रभावित क्षेत्रमा पार्टी पंक्तिबाट भएको उद्धार तथा राहतकार्यको प्रशंसा गर्दै राहत कार्यक्रमलाई थप प्रभावकारी बनाउन पार्टी केन्द्रबाट समेत सक्दो प्रयास गर्ने निर्णय भएको छ।