आज संविधान दिवस: सात दशक लामो संघर्षपछि प्राप्त उपलब्धिको स्मरण
२०८२ असोज ०३ गते शुक्रबार, काठमाडौं।
आज असोज ३ गते, नेपालको संविधान जारी भएको ऐतिहासिक दिन। नेपाली जनताले सात दशकभन्दा लामो संघर्ष, आन्दोलन र बलिदानपछि आफ्नै प्रतिनिधिमार्फत लेखेको ‘नेपालको संविधान’ जारी भएको स्मरणमा देशभर विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ।
विसं २०७२ साल असोज ३ गते संविधानसभाबाट यो संविधान जारी भएपछि नेपालमा लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व तथा मौलिक अधिकारहरू संस्थागत भएका छन्। यो संविधानले नेपाली समाजको विविधतालाई सम्बोधन गर्दै सबै वर्ग, क्षेत्र, लिङ्ग र समुदायका अधिकारलाई सुनिश्चित गरेको छ।
संविधान दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतका शीर्ष नेताहरूले शुभकामना सन्देश जारी गर्दै संविधानको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा जोड दिएका छन्। उनीहरूले संविधानप्रदत्त हकअधिकारको पूर्ण पालना गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र समृद्ध नेपाल निर्माणको लागि सबैलाई आह्वान गरेका छन्।