गृहमन्त्री अर्यालद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण, संयमताका लागि प्रहरीको प्रशंसा
२०८२ असोज ०२ गते बिहिबार, काठमाडौं।
गृह एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्नुभएको छ। यस क्रममा उहाँले हालैको ‘जेन-जी’ आन्दोलनका बेला प्रहरीले प्रदर्शन गरेको संयमता र सहनशीलताको उच्च प्रशंसा गर्नुभयो।
प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग लगायत वरिष्ठ प्रहरी अधिकारीहरूले गृहमन्त्री अर्याललाई स्वागत गरेका थिए। गृहमन्त्रीले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै नेपाल प्रहरीले स्थापनाकालदेखि नै देश र जनताको हितमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
आफ्नो सम्बोधनमा गृहमन्त्री अर्यालले सीमित स्रोतसाधनका बाबजुद प्रहरीले आन्दोलनलाई अत्यन्त संवेदनशील र संयमित भएर सम्बोधन गरेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “आन्दोलनको क्रममा नेपाल प्रहरीले बल प्रयोग र दमनको नीति लिएको भए संकट अझै बढ्ने सम्भावना थियो। यस ऐतिहासिक घडीमा प्रहरीका सकल दर्जाहरूबाट प्रदर्शित संयमता र सहनशीलताको उच्च कदर गर्दछु।”
गृहमन्त्रीले जनताको सुरक्षा नै प्रहरीको प्रमुख दायित्व रहेको बताउँदै, कानुन कार्यान्वयन र शान्ति सुव्यवस्था कायम गर्ने क्रममा प्रहरीले संयमता अपनाएर ठूलो क्षतिलाई न्यूनीकरण गरेकोमा गौरव गर्नुपर्ने बताउनुभयो। उहाँले प्रहरीको मनोबल उच्च राख्न र संगठनको सुदृढीकरणका लागि सरकारले ठोस पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रहरी महानिरीक्षक खापुङ्गले गृहमन्त्रीको निर्देशनले प्रहरीको मनोबल बढाएको र आगामी कार्यदिशा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम रहेको र नागरिक भरोसाको केन्द्रबिन्दुमा रहन प्रतिवद्ध रहेको पनि बताउनुभयो। महानिरीक्षक खापुङ्गले अर्बान पुलिसिङका लागि दक्ष जनशक्ति, आधुनिक प्रविधि र कानुनी अधिकारको आवश्यकतामा जोड दिँदै आधुनिकीकरणमा ढिलाइले राज्यका संरचनाप्रतिको भरोसा घट्ने चेतावनी दिनुभयो।
भ्रमणका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसीले नेपाल प्रहरीको संगठनात्मक संरचना, चुनौती र आगामी कार्यदिशाबारे प्रस्तुतीकरण गर्नुभएको थियो। कार्यक्रममा गृह मन्त्रालयका पदाधिकारीहरू, प्रहरीका उच्च अधिकारीहरू र भर्चुअल माध्यमबाट विभिन्न प्रहरी इकाईका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो।