९ आश्विन २०८३, शुक्रबार

घनश्याम भुसालद्वारा राजनीतिक धुव्रीकरण अन्त्य गरी वृहत् छलफलमा आउन आह्वान

222

२०८२ भदौ २७ गते शुक्रबार, काठमाडौं।

नेता घनश्याम भुसालले गत भदौ २३ र २४ गते देशभर भएका विरोध प्रदर्शनका क्रममा सरकारले चलाएको गोली र त्यसपछिको तोडफोड, आगजनी तथा लुटपाटको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले यसलाई इतिहासकै सर्वाधिक कायरतापूर्ण बर्बरता र सैतानी ताण्डवको संज्ञा दिएका छन्।

भुसालले एक अपिल जारी गर्दै यी घटनाहरूले राष्ट्रिय क्षति पुर्‍याउनुका साथै भावी पुस्तामा अदृश्य ऐंठनका रूपमा दशकौँसम्म झस्काइरहने बताएका छन्। उनले यी घटनाहरू सरकारको दुर्बुद्धिका कारणले मात्रै नभई सत्तासीन खलनायकहरूको बेबकुफीमाथि सुनियोजित षड्यन्त्रकारीहरूले कलमी गरेर फलाएको हलाहल विष भएको दाबी गरेका छन्।

उनका अनुसार देशभक्ति, लोकतन्त्र र सामाजिक न्यायका मूल्यहरूमाथि भइरहेको खेलबाडले वाम–लोकतान्त्रिक आन्दोलनमा हुर्केका लाखौँ इमान्दार सदस्य तथा समर्थक–शुभचिन्तकहरूमा पीडा, ग्लानि र छटपटी उत्पन्न गरेको छ। भुसालले लोकतान्त्रिक गणतन्त्रले खोजेको नैतिक मूल्यको नेतृत्वको अभाव र पार्टीहरूलाई बिर्ता बनाएर नेताहरूको रजाईँ चल्न दिएकाले यो दिन देख्नुपरेको आरोप लगाएका छन्।

उनले यथास्थितिको पक्षमा उभिएका पार्टी नेतृत्व र प्रश्न उठाउने तल्लो पङ्क्तिका कार्यकर्ताहरूको आवाज अल्पमतमा परिरहेको भन्दै यसको परिणाम अहिलेको सारा विध्वंश भएको बताएका छन्। भुसालले २३ गते सत्ताले गरेको नरसंहार र २४ गते मुलुकभरिका अपराधीहरूले गरेको ताण्डवले राजनीतिक संरचना र प्रक्रियाको हरिविजोग छर्लङ्ग पारेको उल्लेख गरेका छन्।

वर्तमान असाधारण संकटको अवस्थामा देशभक्ति, लोकतन्त्र र मुलुकको समृद्धिको आकांक्षा बोकेका सबै राजनीतिकर्मीहरूलाई सबै बारबन्देज भत्काएर खुल्ला छलफलमा उत्रिन भुसालले आह्वान गरेका छन्।
विशेषगरी कम्युनिष्ट आन्दोलनमा हुर्केका व्यक्ति, नेकपा एमाले र नेकपा माओवादीको स्कुलिङबाट आएका कमरेडहरू, बुद्धिजीवीहरू तथा समर्थकहरूलाई आह्वान गर्दै उनले भनेका छन्, “हाम्रो विचार एउटै हो, नेताहरूका स्वार्थका खरानी रेखाले मात्रै हामीलाई विभाजित गरेको छ। हामी एक ठाउँमा उभियौँ भने ऐतिहासिक राजनीतिक शक्ति जन्मिन्छ।” उनले सबै बन्धन चुँडाल्न तयार हुन अनुरोध गरेका छन्।

Author

Leave A Reply

Your email address will not be published.