विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि नयाँ कार्यक्रम तर्जुमा सुरु
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र योजना (एसईएसपी) को बाँकी पाँच वर्षका लागि नयाँ कार्यक्रम तर्जुमा प्रक्रिया अघि बढाएको छ।
चालु आर्थिक वर्ष एसईएसपीको पहिलो पाँच वर्षे कार्यक्रम कार्यान्वयनको अन्तिम वर्ष भएकाले नयाँ कार्यक्रम बनाउन लागिएको हो। यसका लागि मन्त्रालयले शिक्षा क्षेत्रका विज्ञ, योजनाविद् तथा सम्बन्धित निकायका अधिकारीसँग छलफल सुरु गरेको छ।
पहिलो चरणमा शिक्षा क्षेत्रको रणनीतिक विश्लेषण गरी त्यसका आधारमा नयाँ कार्यक्रम डिजाइन गरिने मन्त्रालयले जनाएको छ। योजनामा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय, नयाँ प्राथमिकताका विषय तथा प्रभावकारी रूपमा सञ्चालन भइरहेका कार्यक्रमलाई निरन्तरता दिने विषय समेटिनेछन्।
मन्त्रालयले आगामी पाँच वर्षको योजना निर्माणका लागि आवश्यक कार्ययोजना एक महिनाभित्र तयार गर्न विज्ञहरूलाई जिम्मेवारी दिएको छ।