१२ आश्विन २०८३, सोमबार

प्रधानमन्त्री शाह स्वदेश फर्किए, जलवायु संकट र विपद्बारे विश्व समुदायको ध्यानाकर्षण

8

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भएर स्वदेश फर्किनुभएको छ।

न्युयोर्कमा महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोशीमा आएको विनाशकारी बाढीलाई जलवायु संकटको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो। उहाँले नेपालले हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायु परिवर्तनका गम्भीर असर भोगिरहेको बताउँदै जलवायु न्याय र अन्तर्राष्ट्रिय सहयोगमा जोड दिनुभयो।

प्रधानमन्त्री शाहले हिमाली क्षेत्रमा बढ्दो जोखिम न्यूनीकरणका लागि ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रस्तावसमेत गर्नुभएको थियो। साथै, जलवायुजन्य विपद्बाट हुने क्षतिको पुनर्निर्माणका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभयो।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बानिजसँग भेटवार्ता गर्नुभएको थियो। महासचिव गुटेरेसले भोटेकोशी विपद्प्रति समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा नेपालसँग संयुक्त राष्ट्रसंघको ऐक्यबद्धता रहेको बताउनुभएको थियो।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपालको जलवायु संकट, विपद् व्यवस्थापन, जलवायु न्याय तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा नेपालको धारणा प्रभावकारी रूपमा प्रस्तुत भएको छ।

Author

Leave A Reply

Your email address will not be published.