भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोड क्षति भएको प्रतिवेदन पेश
काठमाडौँ। भोटेकोशी तथा त्रिशूली नदीको बाढी-पहिरोका कारण नेपालको पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोड ४५ लाखभन्दा बढीको प्रारम्भिक क्षति भएको छ। नेपाल पर्यटन बोर्डको द्रूत प्रतिक्रिया टोली (क्यूआरटी) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल ‘गनेस’को उपस्थितिमा सोमबार उक्त प्रतिवेदन पेश गरेको हो।
विशेषगरी रसुवा, नुवाकोट, धादिङ र गोरखामा क्षति पुगेको उल्लेख गर्दै प्रतिवेदनमा सबैभन्दा बढी क्षति होटल व्यवसायमा (रु १९ अर्ब ५६ करोड) भएको जनाइएको छ। बाढी-पहिरोका कारण १,११७ जना प्रभावित तथा सम्पर्कविहीन भएकोमा ३१० जनाको सकुशल उद्धार गरिएको छ भने ६०६ विदेशी र १८८ नेपाली गरी ७९४ जना अझै सम्पर्कविहीन छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पौडेलले अलपत्र पर्यटकको उद्धार र पूर्वाधार पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै समितिलाई पर्यटन पुनरुत्थानको मस्यौदा कार्ययोजना तयार गर्ने जिम्मेवारी दिनुभएको छ। प्रतिवेदनमा रसुवा क्षेत्रलाई दीर्घकालीन रूपमा ‘क्लाइमेट हेरिटेज’का रूपमा विकास गर्ने, प्रभावित व्यवसायीका लागि राहत तथा कर छुट प्याकेज ल्याउने र अन्तर्राष्ट्रिय बजारमा सन्देश प्रवाह गर्न भारतका दुई शहरमा ‘नेपाल नाइट’ सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।