४ बैशाख २०८३, शुक्रबार

रास्वपाको ‘नागरिक करार’: ५ वर्षमा प्रतिव्यक्ति आय ३००० डलर र १२ लाख रोजगारीको संकल्प

137

काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि मतदाताहरूसँग ‘नागरिक करार’ सार्वजनिक गर्दै ५ वर्षभित्र सम्पन्नताको प्रतिफल भुक्तान गर्ने प्रतिबद्धता जनाएको छ । नागरिकको ‘मत’लाई लगानीको रूपमा स्विकार्दै रास्वपाले उक्त लगानीको बदलामा मुलुकको समृद्धि र सुशासन दिने बाचा गरेको हो ।

रास्वपाले आफ्नो नागरिक करारमा मुख्य ५ वटा प्राथमिकता र लक्ष्यहरू निर्धारण गरेको छ:

१. सदाचार र असल शासन:
भ्रष्टाचार विरोधी महाभियानमार्फत राज्यका सबै सेवाहरू डिजिटल माध्यमबाट घरदैलोमै पुर्‍याउने रास्वपाको लक्ष्य छ । साथै, २०४६ सालदेखिका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने र दलीयकरणको अन्त्य गर्ने प्रतिबद्धता जनाइएको छ ।

२. मध्यम वर्गीय विस्तार र आर्थिक वृद्धि:
५ वर्षभित्र प्रतिव्यक्ति आय ३००० डलर पुर्‍याउने र कुल गार्हस्थ्य उत्पादन (GDP) को आकार १०० अर्ब डलर पुर्‍याउने महत्त्वाकाङ्क्षी लक्ष्य राखिएको छ । शतप्रतिशत नागरिकमा स्वास्थ्य बीमा, गुणस्तरीय शिक्षा र ‘मिटर ब्याज’ जस्ता शोषणको अन्त्य गर्ने करारमा उल्लेख छ ।

३. रोजगारी (काम, काम, काम):
बाध्यात्मक वैदेशिक रोजगारीलाई घटाउन ५ वर्षमा १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने रास्वपाको योजना छ । यसका लागि सूचना प्रविधि (IT), निर्माण, पर्यटन, कृषि र सेवा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।

४. कनेक्टिभिटी र पूर्वाधार:
१५ हजार मेगावाट विद्युत् उत्पादन, ३० हजार किलोमिटर राष्ट्रिय राजमार्ग निर्माण र सबै बस्तीमा तीव्र गतिको इन्टरनेट पुर्‍याउने लक्ष्य राखिएको छ । साथै १० वटा राष्ट्रिय महत्त्वका ‘सिग्नेचर आयोजना’ सम्पन्न गर्ने बाचा गरिएको छ ।

५. प्रवास र मताधिकार:
विदेशमा बस्ने नेपालीहरूका लागि ‘अनलाइन मताधिकार’ सुनिश्चित गर्ने, वंशजको नागरिकताको निरन्तरता दिने र डायस्पोरा फण्डमार्फत सुरक्षित लगानीको वातावरण बनाउने करारमा उल्लेख छ ।

बाचा पुरा नगरे राजनीति छाड्ने घोषणा
यस करारको सबैभन्दा विशिष्ट पक्ष ‘राजनैतिक नैतिकता’ को सर्त हो । यदि एकल बहुमत पाएको अवस्थामा ५ वर्षभित्र यी सर्तहरू पुरा गर्न नसकेमा पार्टीका सम्पूर्ण सदस्यहरू अर्को पटकको निर्वाचनमा सजाय भोग्न तयार रहने र पद त्याग गर्ने घोषणा गरिएको छ । “काबु बाहिरको परिस्थिति बाहेक हामी पुरा गर्न नसकिने बाचा बाँध्दैनौँ,” करारको अन्त्यमा भनिएको छ ।

यो दस्ताबेजलाई रास्वपाले “राजनीतिक विश्वासको ऋणको करार” को रूपमा परिभाषित गरेको छ ।

Author

Leave A Reply

Your email address will not be published.