शिक्षा र खेलकुद क्षेत्रमा सहकार्य गर्नेबारे शिक्षामन्त्री पोखरेल र बेलायती राजदूतबीच छलफल
काठमाडौँ, २ वैशाख ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा बुधबार भएको उक्त भेटमा नेपाल र बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, शिक्षा र खेलकुद क्षेत्रमा आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
भेटका क्रममा शिक्षा क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगलाई निरन्तरता दिने र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको छ । विशेषगरी नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्न लागेको ‘अटिजम स्कुल’ को स्थापना, त्यसका लागि आवश्यक स्रोत र जनशक्ति व्यवस्थापन तथा शिक्षकहरूको पेशागत क्षमता विकासका सन्दर्भमा दुई पक्षबीच गहन परामर्श भएको थियो ।
भेटमा नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रको समग्र सुधार र शिक्षकहरूको दक्षता वृद्धिका लागि बेलायत सरकारको निरन्तर सहयोगको अपेक्षा गर्नुभयो । उहाँले भन्नुभयो, “अटिजम स्कुलका लागि आवश्यक जनशक्ति विकास र शिक्षकहरूको क्षमता अभिवृद्धिमा बेलायतको सहयोगले नेपालको शैक्षिक गुणस्तर सुधारमा ठूलो मद्दत पुग्नेछ ।”
राजदूत रब फेनले नेपालको शैक्षिक र खेलकुद क्षेत्रको विकासमा बेलायत सरकारले विगतदेखि नै सहयोग गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि सहकार्य गर्न बेलायत उत्सुक रहेको बताउनुभयो । उहाँले नेपालको शिक्षा प्रणालीलाई सुदृढ बनाउन र द्विपक्षीय हितका क्षेत्रमा थप काम गर्न आफूहरू तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेटका अवसरमा दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने, शिक्षकको क्षमता विकासमा साझेदारी गर्ने र नेपालमा ‘ट्रान्सनेश्नल एजुकेशन’ को सम्भावनाबारे समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।