६ आश्विन २०८३, मंगलवार

सिन्धुली प्रशासनद्वारा उच्च सतर्कता र पूर्वतयारीका लागि आग्रह

210

सिन्धुली, जिल्लामा लगातार वर्षा र विपद् जोखिमको सम्भावना बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले उच्च सतर्कता अपनाउन सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको चेतावनीका आधारमा सिन्धुली प्रशासनले १३ देखि १५ गतेसम्म जिल्लामा भारी वर्षाको सम्भावना रहेको जनाउँदै पूर्वसावधानीका उपायहरू अपनाउन निर्देशन दिएको हो।

कार्यालयले जारी गरेको सूचनामा नागरिकलाई अनावश्यक यात्रा नगर्न, नदी किनार, पहिरो सम्भावित स्थान र जोखिमयुक्त क्षेत्रमा नजान अनुरोध गरिएको छ। साथै, पहिरो वा डुबानको जोखिम भएका बस्तीका स्थानीयलाई सुरक्षित स्थानतर्फ सर्न समेत आग्रह गरिएको छ।

जिल्लाभित्रका सुरक्षानिकाय, स्थानीय तह, विपद् व्यवस्थापन समितिहरू, स्वास्थ्य संस्था र सरोकारवालाहरूलाई उच्च सतर्कतामा रहि आवश्यक तयारी र तत्कालीन उद्धारका उपायहरू तयार राख्न निर्देशन गरिएको छ।

सडक अवरुद्ध हुने सम्भावना भएकाले विशेष गरी बिपी राजमार्ग, मध्यपहाडी राजमार्गहरूमा सावधानी अपनाउन सवारी साधन सञ्चालनमा संलग्न निकायलाई सचेत गराइएको छ।

त्यस्तै, विपद् प्रभावित क्षेत्रका बासिन्दालाई सम्भावित क्षतिको जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न, बाली कटनी तथा सुरक्षित स्थानमा सार्न पनि प्रशासनले आग्रह गरेको छ।

Author

Leave A Reply

Your email address will not be published.