काठमाडौंमा भालुको पित्तसहित दुई जना पक्राउ
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-१ रूप्सेटारबाट करिब ५६८ ग्राम तौल बराबरको संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने दुई थान आखेटोपहारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा कालिकोट खाँडाचक्र नगरपालिका-६ घर भएका २५ वर्षीय रमेश बहादुर शाही र २८ वर्षीय कृष्ण बहादुर शाही रहेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) लाजिम्पाटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त आखेटोपहारसहित रंगेहात पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।