२७ भाद्र २०८३, शनिबार

भोटेकोशी बाढी अपडेट: मंगलबार साँझसम्म १,३६४ शव फेला, ४,०७७ अझै बेपत्ता

16

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार साँझ ५:०० बजेसम्म कुल १ हजार ३ सय ६४ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये चितवनमा ३ सय ६३, नवलपरासी पूर्वमा २ सय २६, नवलपरासी पश्चिममा २ सय २२, नुवाकोटमा १ सय ९७, रसुवामा १ सय ७३, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जना रहेका छन् । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन लगायतका आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार १ सय ४० वटा शव व्यवस्थापन गरिएको छ ।

शव पहिचानका लागि मृतकका १ हजार २ सय ८० र आफन्तका १ हजार ४ सय १२ गरी कुल २ हजार ६ सय ९२ वटा डिएनए नमुना सङ्कलन गरिएको छ भने पहिचान नभएका १ हजार ३ सय १० शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । बाढीमा परी बेपत्ता भएका ४ हजार ७७ जनाको खोजी कार्य अझै जारी छ भने विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा ३ हजार २ सय ४५ जना प्रभावित व्यक्तिहरूलाई राखिएको छ ।

Author

Leave A Reply

Your email address will not be published.