२८ भाद्र २०८३, आईतवार

“कुर्सीमा बस्नु मात्र नेतृत्व होइन, परिणाम हेर्नुहोस्”: गृह मन्त्री सुदन गुरुङ

33

काठमाडौँ ।
गृह मन्त्री सुदन गुरुङले विपद् प्रतिकार्यको यो कठिन समयमा आफ्नो कार्यशैली र भौतिक उपस्थितिलाई लिएर भइरहेका टिप्पणीहरूको कडा जवाफ दिनुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने परम्परागत सोचसँग मात्र जोडेर हेर्नु ‘जेनेरेसन ग्याप’ (Generation Gap) भएको टिप्पणी गर्नुभएको हो।

भोटेकोशी बाढीपछिको संकट व्यवस्थापन र उद्धार कार्यको नेतृत्व गरिरहनुभएका गृह मन्त्री गुरुङले भन्नुभएको छ, “विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा छ, त्यसैले कसैले चिन्ता लिनु पर्दैन। हामी अनलाइन (Online) माध्यमबाट हरेक ४ घण्टामा कमान्ड सञ्चालन र रणनीतिक बैठकहरू गरिरहेका छौँ।”

वर्षौँदेखि फिल्डको वास्तविक स्थिति नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दा सही परिणाम नआएको तर्क गर्दै मन्त्री गुरुङले अहिलेको डिजिटल युगमा कार्यशैली बदल्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा अचम्म लाग्छ। टेबल पछाडि बसेर भन्दा डिजिटल माध्यमबाट काम धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको छ।”

आफ्नो भौतिक उपस्थितिलाई लिएर चासो राख्नेहरूलाई लक्षित गर्दै गृह मन्त्री गुरुङले आफू कहाँ बसेको छु भन्ने कुराभन्दा पनि कामको परिणाममा ध्यान दिन सबैलाई आग्रह गर्नुभएको छ। उहाँले प्रविधिको प्रयोगले विपद् व्यवस्थापन र निर्णय प्रक्रियालाई थप तीव्र बनाएको दाबी समेत गर्नुभएको छ।

Author

Leave A Reply

Your email address will not be published.