प्रधानमन्त्री बालेन्द्र शाह र अष्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानिजबीच टेलिफोन वार्ता
काठमाडौँ ।
सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच आज बिहान १० बजे टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण जनधनको क्षति भएको कठिन घडीमा अष्ट्रेलियाले देखाएको ऐक्यबद्धता र सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो।
प्रधानमन्त्री शाहले विशेषगरी अष्ट्रेलियाले पठाएको विशेषज्ञ ड्रोन अपरेटरको टोली, अत्यावश्यक राहत सामग्री र आर्थिक सहयोगको प्रशंसा गर्दै कृतज्ञता प्रकट गर्नुभयो। संवादका क्रममा उहाँले बाढीमा परी बेपत्ता भएका अष्ट्रेलियाली नागरिकहरूको खोजी कार्यलाई सरकारले तीव्र पारेको जानकारी समेत दिनुभयो।
दुई देशबीचको घनिष्ठ सम्बन्धको चर्चा गर्दै प्रधानमन्त्री शाहले खोज, उद्धार र पुनःस्थापनाका कार्यमा अष्ट्रेलियासँग निरन्तर समन्वय गर्ने बताउनुभयो। सो अवसरमा अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले नेपालले भोगिरहेको विपद्प्रति चासो र चिन्ता व्यक्त गर्नुभएको थियो।