२७ भाद्र २०८३, शनिबार

बडीमालिकामा फोर–जी सेवा सुरु, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन

63

काठमाडौँ, ८ भदौ : सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बाजुराको बडीमालिका क्षेत्रमा पहिलोपटक गुणस्तरीय टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ । नेपाल टेलिकमले बडीमालिकामा फोर–जी सेवा विस्तार गरेसँगै सोमबारदेखि सो क्षेत्र सञ्चार सम्पर्कमा जोडिएको हो ।

जनैपूर्णिमाको अवसरमा लाग्ने प्रसिद्ध धार्मिक मेलाको पूर्वसन्ध्यामा सञ्चालनमा आएको यो सेवाको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सोमबार एक समारोहका बीच भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभयो । समुद्री सतहबाट करिब ४ हजार २ सय मिटरको उचाइमा रहेको बडीमालिकामा सञ्चार पहुँच पुगेसँगै तीर्थयात्री, पर्यटक र स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

दुर्गममा सञ्चार पुर्‍याउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री
उद्घाटनका क्रममा मन्त्री डा. तिमिल्सिनाले भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका नागरिकलाई सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिने सरकारको लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्षलाई सरकारले दूरसञ्चार क्षेत्रको अभूतपूर्व सुधार र डिजिटल रूपान्तरणको वर्षका रूपमा मनाउँदैछ । विकट भएकै कारण कोही पनि नागरिक सञ्चार सेवाबाट टाढा रहनुपर्ने अवस्थाको अब अन्त्य गरिनेछ ।”

मन्त्री तिमिल्सिनाले चुनौतीपूर्ण भूगोलमा सेवा पुर्‍याउन खटिने नेपाल टेलिकमका प्राविधिक, उपकरण ढुवानीमा सहयोग गर्ने नेपाली सेना र समन्वय गर्ने स्थानीय जनप्रतिनिधिलाई धन्यवाद दिनुभयो । उद्घाटनपछि उहाँले बडीमालिकामा खटिएका प्राविधिक टोलीसँग भिडियो कलमार्फत कुराकानी गरी सेवाको अवस्थाबारे जानकारी समेत लिनुभएको थियो ।

एक महिनाको कठिन प्रयासपछि सफलता
बडीमालिकामा टावर जडान गर्न करिब एक महिनाको निरन्तर प्रयास लागेको थियो । मन्त्री तिमिल्सिनाले गत साउन ८ गते नै सो क्षेत्रमा तत्काल सेवा पुर्‍याउन निर्देशन दिनुभएको थियो । सडक सञ्जाल नपुगेको उक्त स्थानमा नेपाली सेनाको हेलिकप्टरमार्फत उपकरणहरू ढुवानी गरिएको थियो । ४ हजार २ सय ३० मिटरको उचाइमा रहेको ‘लौरी विनायक’ भन्ने स्थानमा टावर स्थापना गरिएको छ ।

प्रतिकूल मौसम र कठिन भूगोलका कारण लक्ष्यभन्दा केही ढिला गरी सेवा सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीले व्यावसायिक लाभभन्दा पनि सामाजिक उत्तरदायित्व र दुर्गममा सेवा पुर्‍याउने उद्देश्यलाई प्राथमिकता दिएर काम भइरहेको बताउनुभयो ।

देशभर सञ्चार विस्तारको अभियान
सरकारले दुर्गम र पर्यटकीय क्षेत्रलाई सञ्चार सञ्जालमा जोड्ने कार्यलाई तीव्रता दिएको छ । यसै साता भदौ ५ गते जुम्लाको ऐतिहासिक सिँजा क्षेत्रमा पनि फोर–जी सेवा सुरु भएको छ । यसअघि डोल्पाको दुनै, त्रिपुरासुन्दरी र ताप्लेजुङको ओलाङचुङगोला जस्ता उच्च हिमाली क्षेत्रमा सेवा विस्तार भइसकेको छ ।

टेलिकमका अनुसार सगरमाथा आधार शिविरमा पनि फोर–जी विस्तारको अध्ययन भइरहेको छ भने देशभर थप १ हजार ६ सय नयाँ टावर निर्माणको प्रक्रिया अघि बढाइएको छ । बडीमालिकामा सञ्चार सेवा पुगेपछि अब त्यहाँ हुने मेलाको व्यवस्थापन र आपत्कालीन उद्धार कार्यमा समेत ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Author

Leave A Reply

Your email address will not be published.