३१ भाद्र २०८३, बुधबार

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय स्थल सेनाध्यक्ष सेठबीच शिष्टाचार भेटवार्ता

43

काठमाडौँ ।
प्रधानमन्त्री एवं रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा द्विपक्षीय हित र आपसी सम्बन्धका विषयमा छलफल भएको हो।

भेटका अवसरमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवको पनि उपस्थिति रहेको थियो। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा चारदिने नेपाल भ्रमणका लागि सेनाध्यक्ष सेठ आइतबार काठमाडौँ आइपुग्नुभएको हो।

भ्रमणको दोस्रो दिन सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको थियो। नेपाल र भारतबीच सन् १९५० देखि एक-अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने ऐतिहासिक एवं मौलिक परम्परा रहिआएको छ।

सोमबार नै जङ्गी अड्डामा प्रधान सेनापति सिग्देल र सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता समेत भएको थियो। भारतीय सेनाध्यक्षको यस भ्रमणले दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुमधुर बनाउने विश्वास लिइएको छ।

Author

Leave A Reply

Your email address will not be published.