बर्दियामा छोराद्वारा बुवाको हत्या, १९ वर्षीय युवक पक्राउ
बर्दिया । बर्दियाको गेरूवा गाउँपालिका–५ जुगुतपुरमा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ । आफ्नै ४९ वर्षीय बुवा टेकराज उपाध्यायको हत्या गरेको अभियोगमा १९ वर्षीय छोरा सरगम आचार्यलाई प्रहरीले गए राति पक्राउ गरेको हो ।
सरगमले कुटपिट गर्दा टेकराजको मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाताभार र प्रहरी चौकी पशुपतिनगरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले आरोपित सरगमलाई नियन्त्रणमा लिएको छ ।
पारिवारिक विवादका कारण कुटपिट भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि घटनाको विस्तृत कारण खुल्न बाँकी छ । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।