नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, ‘डिजिटल नाट्टा’लाई प्राथमिकता
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन्। नाट्टाको ५९औँ वार्षिक साधारणसभा तथा २५औँ कार्यसमितिका लागि भएको निर्वाचनबाट पाण्डेले आगामी दुई वर्षका लागि नेतृत्वको जिम्मेवारी पाएका हुन्।
काठमाडौंस्थित सोल्टी होटलमा सम्पन्न निर्वाचनमा पाण्डेले १८८ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भए। अध्यक्ष पदका लागि भएको त्रिपक्षीय प्रतिस्पर्धामा युविका भण्डारीले १५८ मत प्राप्त गरिन् भने जिश्वा तुलाधर श्रेष्ठले १०६ मत पाइन्।
पर्यटन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बोकेका पाण्डे एभरेस्ट मिराकल ट्राभल्स एन्ड टुर्सका निर्देशक हुन्। नाट्टाको नेतृत्वमा पुगेपछि उनले पर्यटन व्यवसायलाई थप व्यवस्थित, प्रविधिमैत्री र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
पाण्डेको कार्ययोजनामा नाट्टाका सदस्य तथा पर्यटन व्यवसायीलाई लक्षित गर्दै सेवा प्रवाहलाई डिजिटल माध्यमबाट प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ। उनले ‘डिजिटल नाट्टा’को अवधारणामार्फत संस्थाका गतिविधि तथा सेवाहरूलाई आधुनिक बनाउने, अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन विस्तार गर्ने र पर्यटन व्यवसायमा देखिएका नीतिगत समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने एजेन्डा अघि सारेका छन्।
यस्तो बन्यो नाट्टाको नयाँ कार्यसमिति
निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा निर्वाचित भएका छन्। शर्माले २५१ मत प्राप्त गर्दै विष्णु पाण्डे र वरुण मेहतालाई पछि पारे।
त्यस्तै, उपाध्यक्ष पदमा सविता केसी भट्टराई १७७ मतसहित विजयी भएकी छन्। महासचिवमा राजकुमार देवकोटाले १५८ मत प्राप्त गरी निर्वाचित भए भने सचिव पदमा रमेश पराजुलीले १९५ मत प्राप्त गरे।
कोषाध्यक्षमा डिकी शेर्पा २०८ मतसहित निर्वाचित भएकी छन्। सह–सचिव/सह–कोषाध्यक्ष पदमा भने जीवन कोइरालाले १६६ मत प्राप्त गर्दै जिम्मेवारी हात पारे।
कार्यसमिति सदस्यतर्फ ८ पदका लागि भएको निर्वाचनमा स्मारिका थापाले सर्वाधिक २११ मत प्राप्त गरिन्। सदस्यमा निर्वाचित अन्य उम्मेदवारहरूमा प्रकाश लोहनी, नवीन गुरुङ, दिनेश मैनाली, सुमनलाल श्रेष्ठ, स्वस्तिका प्रधान, संकेत दाहाल र विभास पौडेल रहेका छन्।
उनीहरूले क्रमशः २१०, २०५, १८९, १८८, १८४, १६५ र १५८ मत प्राप्त गरेका छन्।
नयाँ नेतृत्वले नाट्टालाई पर्यटन व्यवसायीको साझा संस्थाका रूपमा अझ प्रभावकारी बनाउने, सदस्यहरूको सहभागिता बढाउने तथा संस्थागत सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्ने जनाएको छ।
पाण्डेको नेतृत्वमा नाट्टाले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रवर्द्धन गर्ने, निजी क्षेत्रका समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्ने तथा पर्यटन व्यवसाय सञ्चालनमा रहेका नीतिगत र व्यावहारिक अवरोध हटाउन पहल गर्ने अपेक्षा गरिएको छ।