३१ भाद्र २०८३, बुधबार

काठमाडौँका विभिन्न स्थानबाट लागूऔषधसहित दुई भारतीय नागरिकसहित ६ जना पक्राउ

31

काठमाडौँ: प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट अवैध लागूऔषध कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई भारतीय नागरिक समेत रहेका छन् ।

विमानस्थलमा १८ किलो गाँजा बरामद:
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट करिब १८ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । क्याथे प्यासेफिक एयरको उडानमार्फत बैंककबाट काठमाडौँ आएका २६ वर्षीय रवि कुमार र ३६ वर्षीय सञ्जीव कुमारलाई लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले मंगलबार राति पक्राउ गरेको हो ।

नयाँ बसपार्क र टोखामा ब्राउनसुगर:
प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्क र टोखा क्षेत्रबाट तीन जनालाई खैरो हेरोइन (ब्राउनसुगर) सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका २२ वर्षीय सुशिल नेपाली (१.१ ग्राम र १७ हजार नगदसहित), सिन्धुपाल्चोकका ३४ वर्षीय राजेन्द्र श्रेष्ठ (६७० मिलिग्रामसहित) र दोलखाका २६ वर्षीय सुजन तामाङ (१४० मिलिग्रामसहित) रहेका छन् ।

पशुपति क्षेत्रमा गाँजासहित पक्राउ:
यसैगरी, पशुपति पार्किङ क्षेत्रबाट ३ सय ग्राम गाँजासहित कास्की घर भई चावहिल बस्ने २२ वर्षीय सन्दिप परियारलाई प्रहरी वृत्त गौशालाले मंगलबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ परेका सबैमाथि प्रहरीले थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.