पर्साबाट १०५ किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ
पर्सा । पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पटेर्वा सुगौली गाउँपालिका-३ सोनबर्साबाट करिब १०५ किलो गाँजासहित भारतको बिहार राज्य, वेतिया ग्रामका ५० वर्षीय सउरू चौधरीलाई सोमबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो। पक्राउ परेका चौधरीमाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।