सरकारको चौथो त्रैमासिक प्रगति विवरण: सुशासन र शासकीय सुधारमा उल्लेख्य प्रगतिको दाबी
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक (वैशाख–असार) प्रगति विवरण सार्वजनिक गर्दै शासकीय सुधार र सुशासनका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको जनाएको छ। सरकारको सय बुँदे कार्यसूची कार्यान्वयनका क्रममा यस अवधिमा २१ वटा मन्त्रिपरिषद् बैठकबाट ३८४ वटा निर्णय भएका छन्।
प्रमुख उपलब्धिहरू:
-
वित्तीय प्रगति: पुँजीगततर्फ ६८.२६ प्रतिशत र चालूतर्फ १७.०७ प्रतिशत वित्तीय प्रगति भएको छ।
-
हेलो सरकार: प्राप्त ४४ हजार ३४० गुनासोमध्ये ३२ हजार ६७ वटा (७२ प्रतिशतभन्दा बढी) फछ्र्यौट गरिएका छन्।
-
नीतिगत सुधार: ‘मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना’ र ‘भ्रष्टाचारविरुद्धको रणनीति’ मन्त्रिपरिषद्बाट स्वीकृत हुनुका साथै ‘शून्य बाँकी फाइल अभियान’ सुरु गरिएको छ।
-
विकास आयोजना: ५७८ वटा रुग्ण ठेक्काको विश्लेषण गरी समाधानको उपाय खोजिएको छ भने कालिगण्डकी करिडोर जस्ता ठूला आयोजनाको स्थलगत अनुगमन गरिएको छ। हेटौंडा कपडा उद्योग पुनःसञ्चालनको प्रक्रिया पनि अघि बढाइएको छ।
सरकारले प्रशासनिक ढिलासुस्ती र अनियमितता हटाउन सचिवस्तरीय संयन्त्रलाई सक्रिय बनाएको र संघीयदेखि स्थानीय तहसम्म खर्चमा मितव्ययिता कायम गर्न परिपत्र जारी गरेको विवरणमा उल्लेख छ।