विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष र सचिवले लिए शपथ
काठमाडौं, २१ साउन । विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा. डा. खड्गबहादुर केसी र सचिव प्रा. डा. रोजी श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उहाँहरूलाई शपथ गराउनुभएको हो।
शपथग्रहणपछि मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि र विश्वविद्यालयको संस्थागत पुनःसंरचनालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो। नवनियुक्त अध्यक्ष केसी र सचिव श्रेष्ठले विश्वविद्यालयको नीतिगत र संरचनागत सुधारका लागि दृढतापूर्वक लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
अध्यक्ष प्रा. डा. केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष तथा अन्तर्राष्ट्रिय सम्बन्ध र भू-राजनीतिविद् हुनुहुन्छ। सचिव प्रा. डा. श्रेष्ठ नेपालमा नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने पहिलो नेपाली हुनुहुन्छ। उहाँहरू दुवैलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको नेतृत्वमा नियुक्त गर्ने निर्णय गरेको थियो।