भक्तपुरमा जुवातास खेलिरहेका खाजाघर सञ्चालकसहित ७ जना पक्राउ
भक्तपुर । चाँगुनारायण नगरपालिका-९ ताथली चुनदेवी हाइट नजिकैबाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर नगरपालिका-६ चोर्चायाछें बस्ने ३० वर्षीय रोशन देसेमरूले सञ्चालन गरेको आरती खाजाघरमा जुवा खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।
अस्थायी प्रहरी पोष्ट ताथलीबाट खटिएको प्रहरी टोलीले गए राति उक्त खाजाघरमा छापा मारेको थियो। सो क्रममा सञ्चालक रोशन देसेमरूसहित ७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट नगद १८ हजार ५ सय ५५ रूपैयाँ र ३ बुक तास समेत बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।