१६ श्रावण २०८३, शनिबार

तार व्यवस्थापनका लागि आइस्पानलाई थप १५ दिनको समय, सञ्चार मन्त्रालयले भन्यो– ‘यो अन्तिम पटक हो’

12

काठमाडौँ, १५ साउन । काठमाडौँ उपत्यकामा अव्यवस्थित रूपमा रहेका इन्टरनेट, टेलिफोन र केवलका तार व्यवस्थापन गर्न तोकिएको समयसीमाभित्र काम सम्पन्न हुन नसकेपछि इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) लाई अन्तिम पटकका लागि १५ दिनको समय थप गरिएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयमा शुक्रबार बसेको सरोकारवाला निकायहरूको बैठकमा आइस्पानले काम सम्पन्न गर्न थप समय माग गरेपछि सरकारले यस्तो निर्णय गरेको हो । बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले तोकिएको समयमा काम नसकिएको प्रति असन्तुष्टि जनाउँदै अब अनिश्चित रूपमा समय लम्ब्याउन नसकिने स्पष्ट पार्नुभयो ।

सेवा प्रदायक र नियामकको असफलता
बैठकमा सञ्चारमन्त्री तिमिल्सिनाले तार व्यवस्थापन सेवा प्रदायकहरूको कानुनी र व्यावसायिक दायित्व भएको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, “तोकिएको समयमा काम सम्पन्न नहुनु भनेको आइस्पानको असफलता हो, दोस्रो असफलता नियामक नेपाल दूरसञ्चार प्राधिकरणको हो । यी दुवैले काम गर्न नसकेको जिम्मेवारी अन्ततः मन्त्रालयले पनि लिनुपर्छ ।” उहाँले अब मागिएको समयमा काम सकिने विश्वसनीय आधार चाहिने बताउँदै परिणाममुखी भएर काम गर्न निर्देशन दिनुभयो ।

हालसम्मको प्रगति र समस्याहरू
बैठकमा आइस्पानका प्रमुख कार्यकारी अधिकृत सुभास खड्काले पहिलो चरणमा निर्धारण गरिएका ६ वटा रुटमध्ये हालसम्म करिब ५८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले काम गर्ने क्रममा नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणबाट आवश्यक जनशक्ति फिल्डमा नखटिने, प्रहरीले कामदारलाई रोक्ने, ट्राफिक प्रहरीले भर्‍याङ हटाइदिने र दक्ष कामदारको अभाव जस्ता समस्या रहेको गुनासो गर्नुभयो ।

यस्तै, विद्युत् लाइन भूमिगत गर्दा इन्टरनेट र केवलका लागि पर्याप्त पूर्वाधार नबनेको विषय पनि आइस्पानले उठाएको छ । अब उपलब्ध जनशक्तिलाई धेरै स्थानमा छर्नु भन्दा एउटै क्षेत्रमा केन्द्रित गरी छिटो काम सक्ने रणनीति अपनाइने आइस्पानले जनाएको छ ।

यसअघिको प्रतिबद्धता र लक्षित क्षेत्र
गत असार ३१ गते सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा भएको बैठकमा आइस्पानले साउन १५ गतेभित्र काम सक्ने प्रतिबद्धता जनाएको थियो । पहिलो चरणमा त्रिपुरेश्वर–कालिमाटी–कलङ्की, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी–टाउन प्लानिङ–गोंगबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल गरी ६ वटा रुटमा तार व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ ।

Author

Leave A Reply

Your email address will not be published.