सञ्चारमन्त्री र इजरायली राजदूतबीच भेट: सूचना प्रविधि र सहकार्यमा जोड
काठमाडौँ, १५ साउन । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरी बासबीच शुक्रबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध, सूचना प्रविधि, डिजिटल रूपान्तरण, दूरसञ्चार, कृषि र शिक्षाका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। राजदूत बासले सन् १९६० देखि रहेको दुई देशको सम्बन्ध सुदृढ रहेको उल्लेख गर्दै डिजिटल नवप्रवर्तन र कृषि आधुनिकीकरणमा सहकार्य गर्न इजरायल प्रतिबद्ध रहेको बताउनुभयो।
सञ्चारमन्त्री तिमिल्सिनाले नेपालले सूचना प्रविधिमार्फत सुशासनलाई प्राथमिकता दिएको उल्लेख गर्दै इजरायलको अनुभव र असल अभ्यासबाट नेपाल लाभान्वित हुन सक्ने बताउनुभयो। उहाँले सूचना प्रविधि र नवप्रवर्तनका क्षेत्रमा नेपाली युवाहरूका लागि तालिम तथा व्यावसायिक अनुभवका अवसरहरू विस्तार गर्न समेत राजदूतसँग आग्रह गर्नुभएको छ।