१६ श्रावण २०८३, शनिबार

राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न: सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न प्रधानमन्त्रीको जोड

25

काठमाडौँ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ। सिंहदरबारमा सम्पन्न उक्त बैठकले देशको समग्र सुरक्षा अवस्थाको सूक्ष्म समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई उच्च प्राथमिकता दिने निर्णय गरेको छ।

बैठकले देशमा अमनचयन कायम राख्न र कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सबै सुरक्षा निकाय तथा सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी र सुदृढ बनाउने निर्णय गरेको छ।

सुनसरी घटनाको समीक्षा
बैठकमा गत साउन १० गते सुनसरीमा भएको घटनाको विशेष समीक्षा गरिएको थियो। परिषद्का तर्फबाट गराइएको ब्रिफिङअनुसार, राजनीतिक दल, स्थानीय सरोकारवाला र सुरक्षा निकायको संयुक्त एवं सक्रिय प्रयासका कारण अहिले त्यहाँको अवस्था सामान्यीकरणतर्फ उन्मुख भएको छ।

परिषद्द्वारा जारी विज्ञप्तिमा भनिएको छ, “भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग निरन्तर समन्वय गरिनेछ। सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको भावना कायम राख्ने गरी प्रभावकारी रूपमा कार्यसम्पादन गर्न निर्देशन दिइएको छ।”

विपद् व्यवस्थापनमा तदारुकता
सुरक्षा निकायहरूलाई शान्ति सुरक्षाका अतिरिक्त प्राकृतिक विपद्का समयमा पनि उच्च सतर्क रहन निर्देशन दिइएको छ। बाढी, पहिरो तथा अन्य विपद्का घटनामा खोज, उद्धार र राहत कार्यलाई समयमै र प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायहरूबीचको आन्तरिक समन्वयलाई अझ बलियो बनाउने निर्णय बैठकले गरेको छ।

बैठकमा उपस्थिति
बैठकमा प्रधानमन्त्री एवं रक्षामन्त्री वालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थिति थियो। त्यसैगरी, नेपाल सरकारका मुख्य सचिव गोविन्द कार्की र प्रधान सेनापति अशोक सिग्देल लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

परिषद्ले मुलुकको सार्वभौमसत्ता र अखण्डता रक्षाका लागि सुरक्षा रणनीतिलाई समयसापेक्ष परिमार्जन गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

Author

Leave A Reply

Your email address will not be published.