काठमाडौँका अव्यवस्थित तार साउन दोस्रो साताभित्र व्यवस्थापन गरिसक्न मन्त्रीद्वयको कडा निर्देशन
काठमाडौँ, ३१ असार । काठमाडौँ उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार आगामी साउन दोस्रो साताभित्र व्यवस्थापन गरिसक्न सरकारले सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठको संयुक्त उपस्थितिमा सोमबार ऊर्जा मन्त्रालयमा बसेको उच्चस्तरीय अन्तरनिकाय बैठकले समयसीमासहितको एकीकृत कार्ययोजना बनाएर अघि बढ्न यस्तो निर्देशन दिएको हो ।
छवटा रुट प्राथमिकतामा
बैठकले पहिलो चरणमा उपत्यकाका मुख्य छवटा रुटहरूमा प्रयोगविहीन तार हटाउने र अव्यवस्थित तारलाई मिलाउने निर्णय गरेको छ । जसमा निम्नलिखित क्षेत्रहरू परेका छन्:
१. त्रिपुरेश्वर–कालिमाटी–कलङ्की
२. जडीबुटी–पेप्सीकोला
३. त्रिपुरेश्वर–लाजिम्पाट
४. सामाखुशी–टाउन प्लानिङ–गोंगबु
५. कीर्तिपुर क्षेत्र
६. पुरानो बानेश्वर–गौशाला–चाबहिल
मन्त्रीहरूको जोड: “नागरिकलाई तत्काल नतिजा चाहियो”
बैठकमा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अव्यवस्थित तारको समस्या सबै निकायको साझा कमजोरीका कारण सिर्जना भएको बताउँदै अब आरोप-प्रत्यारोप नगरी समाधानमा केन्द्रित हुन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “तार झुण्ड्याएपछि त्यसलाई हटाउने जिम्मेवारी सम्बन्धित सेवा प्रदायककै हो । नागरिकलाई तत्काल नतिजा चाहिएको छ, काममा ढिलाइ गर्ने छुट कसैलाई छैन ।”
यसैगरी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले अव्यवस्थित तारका कारण शहरी सौन्दर्य बिग्रिएको र सुरक्षा जोखिम बढेको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि सरकारले पहल गरिरहेको बताउनुभयो । उहाँले निश्चित क्षेत्र तोकेर ‘पाइलट परियोजना’का रूपमा काम सुरु गर्ने र सोही अनुभवका आधारमा अन्य क्षेत्रमा विस्तार गरिने जानकारी दिनुभयो । पोल भाडाको बक्यौता र कानुनी सुधारका विषयमा पनि सरकारले चाँडै निर्णय लिने उहाँको भनाइ थियो ।
नियामक र सेवा प्रदायकको भूमिका
तार व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले नेतृत्वदायी र नियामकीय भूमिका निर्वाह गर्ने तथा नेपाल विद्युत् प्राधिकरणले आवश्यक सहजीकरण गर्ने निर्णय भएको छ । सबै सेवा प्रदायकले आफ्ना तारमा अनिवार्य रूपमा पहिचान खुल्ने ‘ट्याग’ राख्नुपर्नेछ ।
यसअघि जेठ २८ गते दूरसञ्चार प्राधिकरणले जारी गरेको सूचनाअनुसार अपेक्षित प्रगति हुन नसकेकोमा बैठकमा समीक्षा गरिएको थियो । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान) ले दिउँसोको समयमा सडकमा काम गर्न अनुमति नपाउँदा र वर्षायामका कारण काममा केही ढिलाइ भएको जनाएको छ । यद्यपि, नेपाल टेलिकमले एक महिनाभित्र जनशक्ति दोब्बर बनाएर ट्यागिङको काम सक्ने र एनसेलले पनि आफ्ना तारहरू क्रमिक रूपमा व्यवस्थापन गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् ।
बैठकले अव्यवस्थित तारका कारण सिर्जित जोखिम न्यूनीकरण गर्दै शहरी सौन्दर्य कायम राख्न सबै सरोकारवाला निकायबीच नियमित समन्वय र प्रगति समीक्षा गर्ने निर्णयसमेत गरेको छ ।