राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
काठमाडौँ, १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ। शीतल निवासमा भएको उक्त भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा कुराकानी भएको छ।
भेटका क्रममा समसामयिक राजनीतिक परिस्थिति र विशेष गरी सुनसरीमा हालै विकसित घटनाक्रमका विषयमा छलफल भएको जनाइएको छ।
सभापति लामिछानेले आजै आफ्नै आह्वानमा सम्पन्न सर्वदलीय बैठक र त्यसले जारी गरेको साझा अपिलको पृष्ठभूमिमा राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो। सुनसरी लगायतका क्षेत्रमा उत्पन्न असहज परिस्थिति र सामाजिक सद्भावका विषयमा केन्द्रित रहेर उहाँहरूबीच यो छलफल भएको हो।