१४ श्रावण २०८३, बिहीबार

डिजिटल मिडियालाई मर्यादित बनाउन सञ्चारमन्त्रीको जोड; कानुनी सुधारको तयारी

64

काठमाडौँ, २९ असार । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्र बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताउँदै पत्रकारितालाई मर्यादित र विश्वसनीय बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। आज ‘डिजिटल मिडिया सोसाइटी’का प्रतिनिधिहरूसँग मन्त्रालयमा भएको छलफलमा उहाँले यस्तो धारणा राख्नुभएको हो।

मन्त्री तिमिल्सिनाले पछिल्लो समय गलत सूचना, भ्रामक समाचार र ‘डीपफेक’ (Deepfake) जस्ता विषय सञ्चार क्षेत्रका लागि ठूलो चुनौती बनेको उल्लेख गर्नुभयो। यी चुनौती सामना गर्न आमसञ्चार र मिडिया काउन्सिल विधेयकलाई सरोकारवालाको सुझावका आधारमा परिमार्जन गरी अगाडि बढाइने उहाँले जानकारी दिनुभयो।

छलफलका क्रममा डिजिटल मिडिया सोसाइटीका पदाधिकारीहरूले प्रेस काउन्सिलको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने, पत्रकार आचारसंहिताको कडाइका साथ पालना गराउनुपर्ने र विज्ञापन बजारमा रहेको अस्वस्थ प्रतिस्पर्धा रोक्न नीतिगत हस्तक्षेप हुनुपर्ने सुझाव दिएका थिए। भेटमा डिजिटल पत्रकारिताको संस्थागत विकास र बदलिँदो प्रविधिमैत्री कानुनी संरचना निर्माणका विषयमा समेत छलफल भएको थियो।

Author

Leave A Reply

Your email address will not be published.