शिक्षा अधिकृतमाथि मोबिल छर्कने वडा सदस्य पक्राउ
दाङ: घोराही उपमहानगरपालिका-१५ का वडा सदस्य उत्तम बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ। विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृत अजय बोहोराको शरीरमा मोबिल छर्केको आरोपमा उनलाई पक्राउ गरिएको हो।
असार २७ गते पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको निर्वाचनका क्रममा बुढाथोकीले मतदान अधिकृतसमेत रहेका बोहोरालाई मोटरसाइकल रोकेर मोबिल छर्केका थिए। घटनापछि फरार रहेका बुढाथोकीलाई जिल्ला अदालतको पक्राउ पुर्जीपछि असार २९ गते लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको हो। उनीमाथि अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।