चितवनमा बालिकामाथि यौनजन्य दुर्व्यवहार गर्ने होटल सञ्चालक पक्राउ
चितवन, २८ असार: खैरहनी नगरपालिकामा १७ वर्षीया बालिकालाई यौनजन्य दुर्व्यवहार गरेको अभियोगमा ‘होटल नमस्ते मिलिजुली खाजा घर’का सञ्चालक विकास कुमार श्रेष्ठ पक्राउ परेका छन्।
३५ वर्षीय श्रेष्ठले आफ्नो होटलमा काम गर्ने बालिकालाई असार १९ गते कोठामा बोलाएर ५० हजार रुपैयाँको लोभ देखाउँदै शारीरिक सम्पर्कको प्रस्ताव राखेका थिए। बालिकाले उक्त प्रस्ताव अस्वीकार गर्दा पनि श्रेष्ठले यौनजन्य मनसायले बालिकाको संवेदनशील अङ्ग छोएको र ह्वाट्सएप तथा इन्स्टाग्राममार्फत अश्लील शब्द र भिडियोहरू पठाएर हैरानी दिएको प्रहरीले जनाएको छ।
असार २७ गते घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो। उनीमाथि बालबालिका विरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्र भुसन यादवले जानकारी दिनुभयो।