१४ श्रावण २०८३, बिहीबार

मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त; मन्त्रिपरिषद्द्वारा विभिन्न नियमावली र रणनीतिक योजना स्वीकृत

64

काठमाडौँ, २४ असार २०८३ ।
नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रशासन र नीतिगत क्षेत्रमा दूरगामी प्रभाव पार्ने विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले मुख्य सचिवको रिक्त पदमा गोविन्द बहादुर कार्कीलाई नियुक्त गरेको छ भने विभिन्न पाँचवटा महत्वपूर्ण नियमावली र कार्ययोजनाहरूलाई स्वीकृत प्रदान गरेको छ ।

मुख्य सचिव र अन्य राजनीतिक नियुक्ति
मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी, काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौंका श्री सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण फड्को
सरकारले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन कैलालीस्थित गेटा अस्पताललाई ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’को शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ । यस निर्णयले त्यस क्षेत्रको स्वास्थ्य सेवा र मेडिकल शिक्षामा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले दुईवटा नयाँ नियमावलीहरू स्वीकृत गरेको छ:
१. विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३
२. शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३

यी नियमावली लागू भएपछि वैदेशिक शिक्षा र कन्सल्टेन्सी क्षेत्र थप मर्यादित र व्यवस्थित हुने विश्वास लिइएको छ ।

सुशासन, मानव अधिकार र कारागार सुधार
मन्त्रिपरिषद्ले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि ‘भ्रष्टाचार विरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३–२०८७/८८)’ स्वीकृत गरेको छ । त्यसैगरी, मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि ‘मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/८४–२०८७/८८)’ लाई पनि बैठकले स्वीकृति दिएको छ ।

कारागार व्यवस्थापनलाई आधुनिक र समयसापेक्ष बनाउन ‘कारागार नियमावली, २०८३’ समेत स्वीकृत भएको छ ।

Author

Leave A Reply

Your email address will not be published.