१४ श्रावण २०८३, बिहीबार

प्रधानमन्त्री बालेन्द्र शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: ‘व्यवसायीका व्यावहारिक समस्या सुल्झाउन सरकार तयार’

74

काठमाडौँ, २४ असार: प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको खस्कँदो अर्थतन्त्रलाई चलायमान बनाउन र लगानीको वातावरण सुधार्न निजी क्षेत्रका प्रमुख प्रतिनिधिहरूसँग विशेष छलफल गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको उक्त छलफलमा प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीहरूले भोग्दै आएका नीतिगत तथा प्रक्रियागत अड्चन हटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। छलफल मुख्य गरी आर्थिक गतिविधिलाई सशक्त बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, निजी क्षेत्रको खस्किएको मनोबल उकास्ने र स्वदेशमै रोजगारी एवं उत्पादन वृद्धि गर्ने विषयमा केन्द्रित थियो।

सो अवसरमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारको महत्वपूर्ण साझेदारका रूपमा चित्रण गर्दै भन्नुभयो, “देशको आर्थिक विकास र उत्पादन वृद्धिमा निजी क्षेत्रको भूमिका अपरिहार्य छ। तपाईँहरूले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न र उद्योगमैत्री कानुन एवं प्रशासनिक सुधार गर्न सरकारले प्राथमिकता दिनेछ।”

छलफलमा निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र उद्योग समिति सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा, तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राको सहभागिता थियो।

व्यवसायीहरूले नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता र सरकार–निजी क्षेत्रबीच नियमित एवं परिणाममुखी संवादको आवश्यकता रहेको सुझाव दिएका थिए। प्रधानमन्त्री शाहले निजी क्षेत्रका सुझावलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायमार्फत तत्काल सहजीकरण र सुधारका कार्य अघि बढाउने स्पष्ट पार्नुभयो।

यो उच्चस्तरीय संवादले निजी क्षेत्रमैत्री नीति निर्माणमा सहयोग पुग्ने र सरकार एवं निजी क्षेत्रबीचको सहकार्य थप बलियो हुने विश्वास लिइएको छ।

Author

Leave A Reply

Your email address will not be published.