हुलाकलाई ‘सरकारी कुरियर’ बनाउँदै घरघरमै सेवा पुर्याउने मन्त्री तिमिल्सिनाको उद्घोष
काठमाडौँ, १६ असार ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले परम्परागत हुलाक सेवालाई आधुनिक ‘सरकारी कुरियर सेवा’का रूपमा रूपान्तरण गरी सरकारी सेवा नागरिकको घरदैलोमै पुर्याउने कार्यको जग बसेको बताउनुभएको छ ।
हुलाक सेवा विभागद्वारा आयोजित ‘हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद’मा बोल्दै मन्त्री तिमिल्सिनाले प्रविधिको विस्तारसँगै हुलाकको स्वरूप बदलिए पनि यसको सान्दर्भिकता झन् बढेको उल्लेख गर्नुभयो । “डिजिटाइजेसनले हुलाकको महत्त्व घटाएको छैन, बरु यसलाई विशिष्टीकृत बनाउँदै लैजानुपर्ने आवश्यकता बढाएको छ,” उहाँले भन्नुभयो ।
मन्त्री तिमिल्सिनाले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र अन्य सरकारी कागजात घरमै पुर्याउने व्यवस्थाले नागरिकको समय र लागत बचत भएको दाबी गर्नुभयो । सरकारको १०० दिने कार्यसूचीअन्तर्गत सञ्चार मन्त्रालयले उल्लेख्य प्रगति गरेको जानकारी दिँदै उहाँले अब हुलाकलाई ‘स्मार्ट हुलाक’ मा रूपान्तरण गर्ने अभियान तीव्र पारिने बताउनुभयो ।
कार्यक्रममा सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेतले विभागले हालसम्म सातवटा सरकारी निकायसँग समझदारी गरी सेवा प्रवाह गरिरहेको जानकारी दिनुभयो । त्यस्तै, विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले ‘घरघरमा हुलाक, मनमनमा हुलाक’ अभियानमार्फत नागरिकको विश्वास जित्ने कार्य भइरहेको बताउनुभयो ।