जेठ महिनामा लागूऔषध कारोबारमा संलग्न १ हजार ३६ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सबैभन्दा धेरै कोशी प्रदेशबाट २१२ जना, लुम्बिनीबाट १८२ जना र काठमाडौं उपत्यकाबाट १६९ जना रहेका छन्।
सो अवधिमा प्रहरीले ३ हजार ७ सय ३० किलो गाँजा, ९३ किलो अफिम, ४ लाख ६२ हजारभन्दा बढी ट्रामाडोल ट्याब्लेट लगायतका ठूलो परिमाणमा विभिन्न अवैध लागूऔषध बरामद गरेको छ। लागूऔषध नियन्त्रणका लागि देशभरका प्रहरी कार्यालयहरूले कारबाही प्रक्रियालाई तीव्र पार्नुका साथै ‘समुदाय-प्रहरी साझेदारी’ अन्तर्गत जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ।