३ बैशाख २०८३, बिहीबार

विमानस्थलबाट २९ हजार अमेरिकी डलरसहित तीन जना पक्राउ, चीन जान लागेका थिए

72

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ठुलो परिमाणको अमेरिकी डलरसहित तीन जना पक्राउ परेका छन् । बाह्य मुलुकतर्फ अवैध रूपमा लैजान लागेको कुल २८ हजार ९ सय अमेरिकी डलरसहित प्रहरीले बुधबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौँको नागार्जुन नगरपालिका-१ बस्ने ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ की ३८ वर्षीया संगिता लामा र सिन्धुपाल्चोककै लिसंखु पाखर गाउँपालिका-७ का ४७ वर्षीय बिनोद लामा रहेका छन् ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ‘ह्याण्ड ब्यागेज चेकिङ एरिया’मा जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त डलर फेला परेको हो । उनीहरू चाइना साउथर्नको उडानमार्फत काठमाडौंबाट चीन जान लागेका थिए ।

प्रहरीका अनुसार अनिता र संगिताको साथबाट जनही १०/१० हजार र बिनोदको साथबाट ८ हजार ९ सय अमेरिकी डलर बरामद गरिएको छ ।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि ललितपुरको पुल्चोकस्थित राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.