अष्ट्रेलिया पठाइदिने प्रलोभनमा १२ लाख ठग्ने महिला पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर अष्ट्रेलिया पठाइदिने भन्दै १२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३२ बस्ने ५५ वर्षीया मिना घिमिरे रहेकी छन् ।
घिमिरेले अष्ट्रेलिया पठाइदिने विश्वास दिलाएर पीडितबाट १२ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्दै उजुरी परेको थियो । सोही उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार काठमाडौँ महानगरपालिका–१४ बाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकी घिमिरेलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।