काठमाडौंमा ८ किलो गाँजासहित एक जना पक्राउ
काठमाडौं महानगरपालिका–९ तिलगंगाबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन घर भई हाल काठमाडौं महानगरपालिका–८ विजयचोकमा डेरा गरी बस्ने ३६ वर्षीय लालबहादुर तामाङ रहेका छन् । शनिबार दिउँसो प्रहरी वृत्त गौशालाबाट खटिएको विशेष टोलीले उनलाई तिलगंगास्थित सडकबाट ४ किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेपछि प्रहरीले उनलाई थप अनुसन्धान गर्ने क्रममा विजयचोकस्थित उनको कोठामा समेत खानतलासी गरेको थियो । कोठा खानतलासी गर्दा थप ४ किलोग्राम गाँजा फेला परेपछि प्रहरीले जम्मा ८ किलोग्राम गाँजा बरामद गरेको हो ।
पक्राउ परेका तामाङमाथि लागूऔषध नियन्त्रण ऐन बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।