३ आश्विन २०८३, शनिबार

निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

169

काठमाडौं ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरूलाई विशेष निर्देशन दिनुभएको छ। शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत देशभरका प्रहरी प्रमुख तथा प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो।

महानिरीक्षक कार्कीले निर्वाचनका समयमा देखा पर्न सक्ने सुरक्षा चुनौतीहरूको समयमै पहिचान र विश्लेषण गरी प्रभावकारी प्रहरी परिचालन गर्न जोड दिनुभयो। उहाँले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न, अवाञ्छित गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन र सूचना संकलनलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुभयो।

“निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई त्रुटीरहित तवरले कार्यसम्पादन गर्न आवश्यक छ,” महानिरीक्षक कार्कीले भन्नुभयो। उहाँले अन्य सुरक्षा निकायसँग समन्वय गर्दै सीमा नाकामा हुने आपराधिक क्रियाकलाप नियन्त्रण, फरार प्रतिवादी पक्राउ र अवैध हातहतियार बरामदमा विशेष सुरक्षा योजना लागू गर्न समेत आग्रह गर्नुभयो।

प्रहरी कर्मचारीहरूलाई उच्च व्यावसायिकता, तटस्थता र इमानदारिताका साथ जिम्मेवारी वहन गर्न निर्देशन दिँदै उहाँले जुनसुकै अनपेक्षित घटनाको सामना गर्न तयारी हालतमा रहन सचेत गराउनुभयो। उक्त भर्चुअल बैठकमा ७ वटै प्रदेशका प्रहरी प्रमुखहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

Author

Leave A Reply

Your email address will not be published.