सप्तरीमा २३ लाख रुपैयाँ स्रोत नखुलेको नगदसहित २ जना पक्राउ
सप्तरी: सप्तरीको सुरूङगा नगरपालिका-२ स्थित सडकबाट स्रोत नखुलेको २३ लाख रुपैयाँ नगदसहित दुई जनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा दमक नगरपालिका-५ बस्ने २८ वर्षीय किरण सिटौला र १९ वर्षीय धिरज प्रसाई रहेका छन्।
इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरी टोलीले कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बा.प्रदेश ०१-०२८ च ५००८ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा उक्त ठूलो परिमाणको नगद फेला पारेको थियो। प्रहरीले गाडी चालक सिटौला र गाडीमा सवार प्रसाई दुवैलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।