उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न
काठमाडौं, सूर्यको आराधना गरिने महान पर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन भएको छ। चार दिनसम्म मनाइने यो पर्वको अन्तिम दिन व्रतालुहरूले जलाशयमा उभिएर उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा आराधना गरेका हुन्।
मंगलबार बिहान काठमाडौं उपत्यकाका विभिन्न जलाशयहरू, विशेषगरी गौरीघाट, थापाथली, कुपन्डोल, कमलपोखरी लगायतका स्थानहरूमा भक्तजनहरूको घुइँचो लागेको थियो। यस पर्वमा सूर्यदेव र छठी माताको पूजा गर्नाले मनोकामना पूरा हुने, रोग निको हुने र सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ। यस वर्षको छठपर्व शान्तिपूर्ण र उल्लासमय वातावरणमा सम्पन्न भएको छ।