पूर्वप्रधानमन्त्री ओलीको संविधान दिवस सन्देश: ‘संविधान र सार्वभौमसत्तामाथि गम्भीर आक्रमण, सबै नेपाली एकजुट होऔं’
२०८२ असोज ०३ गते शुक्रबार, काठमाडौं।
संविधान दिवसको अवसरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले ७० वर्षको लामो संघर्षपछि प्राप्त गरेको संविधान र देशको सार्वभौमसत्तामाथि गम्भीर आक्रमण भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले जारी गरेको सन्देशमा वर्तमान अवस्थालाई ‘अकल्पनीय संकट’ को संज्ञा दिँदै यसको सामना गर्न सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
ओलीले संविधान निर्माणका क्रममा भोगेका चुनौतीहरू स्मरण गर्दै नाकाबन्दी र सार्वभौमसत्तामाथि उत्पन्न संकटलाई समेत परास्त गरी संविधान जारी भएको बताएका छन्। उनले संविधानलाई नेपाली जनताले आफ्ना लागि लेखेको भविष्यको रेखाका रूपमा चित्रण गरेका छन्।
सन्देशमा ओलीले आफ्नो प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सिंहदरबार जलाइएको, नेपालको नक्सा जलाइएको र देशको निशानी मेटाउने प्रयास भएको घटनाको निन्दा गरेका छन्। जनप्रतिनिधि संस्थाहरू, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालयहरू, नेता कार्यकर्ताका घर तथा व्यक्तिगत सम्पत्तिहरू छानीछानी खरानी बनाइएकोप्रति उनले आक्रोश व्यक्त गरेका छन्। यी घटनापछाडिको षड्यन्त्रबारे समयले नै धेरै कुराको खुलासा गर्ने उनको भनाइ छ।
गत साता जेन-जीको शान्तिपूर्ण भनिएको प्रदर्शनका क्रममा ‘घुसपैठकारी’ हरूले हिंसा मच्चाएको र युवाहरूको ज्यान गएको घटनाप्रति ओलीले दुःख व्यक्त गरेका छन्। उनले सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको भन्दै प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्ने माग गरेका छन्। दिवङ्गत युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि उनले गरेका छन्।
ओलीले देश बनिरहेको थियो वा बिग्रेको थियो भन्ने प्रश्न गर्दै देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार गरिएको मात्रै हो कि भन्ने प्रश्न उठाएका छन्। विदेश जाने/आउने एयरपोर्टको भीडलाई नकारात्मक भन्ने समाजले अहिले देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला भन्नेबारे नयाँ पुस्ताले आफैं महसुस गर्ने उनको भनाइ छ।
उनले देशको सार्वभौमसत्ता इतिहासमा मात्र सीमित हुन नदिन समय छँदै यी कुराहरू बुझ्न आग्रह गरेका छन्। काजी भीम मल्लको मृत्युदण्डको इतिहास स्मरण गराउँदै असन्तोषका परिणामहरूले पछुताउन मात्र काम लाग्ने बताएका छन्।
अन्तमा, ओलीले संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न सबै पुस्ताका नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन्। “सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो,” उनले भनेका छन्, “हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ।” उनले सबैमा संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न अपील गरेका छन्।