जेन्जी आन्दोलनका घाइते दिपेन्द्र बस्नेतको स्वास्थ्यमा सुधार, परिवारमा खुशीको लहर
२०८२ असोज ०२ गते बिहिबार, काठमाडौं।
गत जेन्जी आन्दोलनको पहिलो दिन टाउकोमा गोली लागेर गम्भीर घाइते भएका दैलेख, भगवतीमाई गाउँपालिकाका २८ वर्षीय दिपेन्द्र बस्नेतको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। आन्दोलनका क्रममा गम्भीर अवस्थामा झुन्डिरहेको उनको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो, जसले धेरैलाई चिन्तित बनाएको थियो।
आन्दोलनको दिनदेखि नै अस्पतालमा उपचाररत बस्नेतलाई हालै भेट्दा उनको स्वास्थ्य अवस्थामा सुधार आएको पाइएको अभियन्ता केपि खनालले जानकारी दिएका छन्। खनालका अनुसार, दिपेन्द्रका बुवाले आन्दोलनको दिनको उनको अवस्था देखाउँदै “आन्दोलनको दिन यो अवस्थामा थियो मेरो छोरा” भन्दा मन छोएको तर उनको स्वास्थ्य लाभको खबरले ठूलो खुशी दिएको बताएका छन्।
काठमाडौंमा काम गर्दै आएका दिपेन्द्रको स्वास्थ्यलाभको खबरले उनको परिवार र शुभचिन्तकहरूमा खुशीको लहर छाएको छ। देशभरका आन्दोलनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, यस्ता सकारात्मक खबरहरू सुन्न पाइयोस् भन्ने अपेक्षा गरिएको छ। दिपेन्द्रको यो रिकभरीले धेरैलाई आशा प्रदान गरेको छ।