काभ्रे, बनेपाबाट कटुवा पेस्तोल र ३६ राउण्ड गोलीसहित एक जना पक्राउ
२०८२ जेष्ठ २९ गते बिहिबार, काठमाडौं।
काभ्रेको बनेपा नगरपालिका-९, लाइकुमा डेरा गरी बस्दै आएका मण्डनदेउपुर नगरपालिका-७ घर भएका ३४ वर्षीय सन्तोष श्रेष्ठलाई कटुवा पेस्तोल १ थान र ३६ राउण्ड गोलीसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको विशेष टोलीले गोप्य सूचनाको आधारमा उनको कोठामा तलासी गर्दा उक्त अवैध हातहतियार र गोली बरामद गरेको हो। प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।
घटनास्थलबाट बरामद गरिएका हातहतियार र गोलीबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको र श्रेष्ठको संलग्नता तथा हतियारको स्रोतबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।