११ आश्विन २०८३, आईतवार

पोखराको हेम्जाबाट ठूलो मात्रामा जुवाडे पक्राउ, नगद ८५ हजारभन्दा बढी बरामद

170

२०८२ भाद्र २२ गते आइतबार, काठमाडौं।

कास्की, पोखरा महानगरपालिका-२५ हेम्जा सुन्दरपुरी चोकस्थित म्याग्दी मालिका गाउँपालिका-५ घर भएका धिरेन पूर्जाले सञ्चालन गरेको ‘होटल म्याग्दी’ मा छापा मारी प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ। शनिबार दिउँसो भएको यस कारबाहीमा होटल सञ्चालक धिरेन पूर्जा पनि सामेल छन्।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको विशेष प्रहरी टोलीले होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई रंगेहात पक्राउ गरेको हो। प्रहरीले घटनास्थलबाट नगद ८५ हजार ७ सय ९० रुपैयाँ र ४ बुक तास बरामद गरेको छ।

पक्राउ परेका सबै जनामाथि जुवा ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीले अवैध जुवातास नियन्त्रणका लागि सक्रिय रूपमा लागिपरेको बताएको छ।

Author

Leave A Reply

Your email address will not be published.