नेकपा (एमाले) विधान महाधिवेशन सुरु: ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै
२०८२ भाद्र २० शुक्रबार, काठमाडौं।
नेकपा (एमाले) को बहुप्रतिक्षित विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा भव्यताका साथ सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन्।
महाधिवेशनमा महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यसैगरी, केन्द्रीय लेखा, अनुशासन, निर्वाचन र सल्लाहकार परिषदका छुट्टाछुट्टै प्रतिवेदनहरू पनि प्रस्तुत गरिनेछ।
शनिबार, महाधिवेशनमा सहभागी २३४१ प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरी प्रस्तुत दस्तावेजहरूमाथि विस्तृत छलफल गराइनेछ। आइतबार यी समूहका नेताहरूले राजनीतिक प्रतिवेदनमाथि समूहगत सुझावहरू प्रस्तुत गर्नेछन्। सुझावहरूमाथि नेतृत्वले जवाफ दिएपछि पार्टी केन्द्रीय निर्वाचन आयोगको निर्वाचन प्रक्रिया सुरु हुनेछ।
यस विधान महाधिवेशनले केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी तथा सदस्यहरू निर्वाचित गर्नेछ, जसले आगामी महाधिवेशनमा पार्टीको नेतृत्व चयनको प्रक्रिया अगाडि बढाउनेछ।
एमालेले यस महाधिवेशनलाई उच्च प्रविधियुक्त बनाएको छ। सहभागी प्रतिनिधिहरूका लागि डिजिटल कार्डको व्यवस्था गरिएको छ भने गोदावरी पुग्ने मुख्य सडकमा आकर्षक स्वागतद्वारहरू निर्माण गरिएका छन्। प्रतिनिधिहरूलाई आवासको सुविधा नभए पनि महाधिवेशनस्थलसम्म पुग्नका लागि सवारी साधनको विशेष प्रबन्ध गरिएको एमालेले जनाएको छ।