११ आश्विन २०८३, आईतवार

अख्तियारको नक्कली कर्मचारी बनेर धम्काउने दुई जना पक्राउ

201

२०८२ भदौ १९ गते बिहिबार, काठमाडौं।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नक्कली कर्मचारी बनेर धम्काई आर्थिक लाभ लिने प्रयासमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–८ बस्ने डोटी घर भएका २७ वर्षीय लक्ष्मण पनेरू र काठमाडौं महानगरपालिका -४ सुकेधारा बस्ने झापा घर भएका ५४ वर्षीय विनोद साह रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले आफूलाई अख्तियारका कर्मचारी परिचय दिँदै टोखा नगरपालिका–८ बस्ने एक पीडितलाई “तपाईँ र परिवारको नागरिकता नक्कली हो भन्ने सूचना पाएका छौँ, यसबारे अनुसन्धान भइरहेको छ। यस कारवाहीबाट बच्न १ करोड रुपैयाँ दिनुपर्छ, नत्र सबैलाई जेल हालिन्छ,” भनी योजनाबद्ध ढंगले धम्काएको आरोप छ।

उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले मंगलबार काठमाडौं महानगरपालिका–१४ कलंकीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूको साथबाट नगद २ लाख रुपैयाँ, मोबाइल ४ थान र गाडी १ थान समेत प्रहरीले बरामद गरेको छ।

हाल उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.