वैदेशिक रोजगारीको नाममा सर्विया र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२ भदौ १८ गते बुधबार, काठमाडौं।
वैदेशिक रोजगारीको नाममा सर्विया र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० का ३५ वर्षीय सरोज सुवाल र काठमाडौं चन्द्रागिरी नगरपालिका–१३ बस्ने, रौतहट चन्द्रपुर नगरपालिका–२ घर भएकी २७ वर्षीया सिर्जना कार्की रहेका छन्।
उनीहरू मध्ये सरोजले सर्विया पठाइदिन्छु भन्दै एक पीडितसँग तीन लाख रुपैयाँ लिएका थिए भने सिर्जनाले रोमानिया पठाइदिन्छु भन्दै अर्को पीडितसँग चार लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएकी थिइन्।
पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले सुवाललाई मंगलबार ललितपुर महानगरपालिका–२ बाट र कार्कीलाई बुधबार काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।