युएई पठाइदिन्छु भनी रकम ठगी गर्ने मिनराज पक्राउ
२०८२ भदौ १७ गते मंगलबार, काठमाडौं।
वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा प्युठानको नौबहिनी गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्ने ३२ वर्षीय मिनराज राना क्षेत्री रहेका छन्।
मिनराजले युएई पठाइदिन्छु भन्दै दुई जना पीडितबाट २ लाख ३० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–९ बाट सोमबार पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।