यसपालिको दशैं तिहार, ‘सुकिला नोट’ कै भर
२०८२ भाद्र १५ गते आइतबार, काठमाडौं।
नेपाल राष्ट्र बैंकले २०८२ सालको दशैं, तिहार लगायतका चाडपर्वहरूलाई लक्षित गर्दै सुकिला नोट सटहीको व्यवस्था मिलाएको छ। मुद्रा व्यवस्थापन विभागले आज जारी गरेको सूचना अनुसार, २०८२ भदौ २९ गतेदेखि २०८२ असोज १० गतेसम्म सर्वसाधारण तथा विभिन्न संघसंस्थाहरूले सुकिला नोट सटही गर्न सक्नेछन्।
राष्ट्र बैंकका अनुसार, ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट सुकिला नोट उपलब्ध हुनेछन्। सुकिला नोट सटहीका लागि नेपाल राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागका साथै प्रदेशस्थित कार्यालयहरूलाई पनि खटाइएको छ। विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीमा रहेका राष्ट्र बैंकका कार्यालयहरूबाट समेत सुकिला नोट सटहीको व्यवस्था मिलाइएको विभागले जनाएको छ।
यो व्यवस्थाले चाडपर्वहरूमा सुकिला नोटको सहज उपलब्धता सुनिश्चित गर्ने र सर्वसाधारणलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।
हेर्नुस सूचना
